काठमाडौँ । सरकारले ल्याएको बजेटमा देखिएको विवाददेखि नयाँ राजदूत नियुक्ति र मन्त्रीमण्डल हेरफेरका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच विवाद छताछुल्ल भएको छ । ओलीले सहयोग नगरेकै कारण प्रतिनिधिसभामा सरकारको चर्को आलोचना भइरहेको छ । बजेटलाई एमालेकै मन्त्रीहरूले बदनाम गराउने र बाहिर आएर ओलीले सरकारको विरोध गर्ने गतिविधि गरेपछि प्रचण्ड ओलीसँग रुष्ट बनेका हुन् ।
त्यसो त ओली प्रचण्डबीच राजदूत फिर्ता गर्नेदेखि नयाँ राजदूत नियुक्तिका विषयमा पनि मनमुटाब छ । भारतमा राजदूत नियुक्त गर्ने विषयमा पनि उनीहरुबीचको विवाद सतहमा नआएको होइन ।
यता जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउने विषयमा पनि उनै ओलीले भाँजो हालेका छन् । दुबै पार्टीलाई एक एक मन्त्री दिने तयारी प्रचण्डले गरेको अवस्थामा ओलीले सिके राउतलाई नै सरकारमा ल्याउनुपर्ने र उनलाई परराष्ट्रमन्त्री बनाउनु पर्ने बताएपछि एमाले र माओवादीबीच पानी बाराबारको अवस्था आएको छ ।
उकुसमुकुस प्रचण्ड
एमालेसँग समीकरण बनाएको सय दिनमै प्रचण्डले निकटका नेताहरूसँग ओलीसँगको सहकार्य उकुसमुकुसपूर्ण भएको बताउने गरेका छन् । सरकारका काममा हस्तक्षेप गरेको, वैदेशिक सम्बन्ध बिगारिदिएको र मन्त्री हेरफेरमा सहयोग नगरेको गुनासो प्रचण्डको छ । त्यसो त उनले एमाले मन्त्रीहरूको कार्यशैलीमा पनि प्रश्न उठाइरहेका छन् ।
त्यसमा पनि सिके राउतलाई परराष्ट्रमन्त्री बनाउनुपर्ने बताएपछि हालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समेत उनीसँग रुष्ट हुन पुगेका छन् । प्रचण्डले मात्र नभएर माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले समेत एमालेसँग मिल्न आएर गलत गरिएको महसुस गिरिरहेका छन् ।
कांग्रेसलाई सन्देश
कांग्रेस र एमालेलाई प्रयोग गरेर आफ्नो सत्ता यात्रा सुनिश्चित बनाउँदै आएका प्रचण्डले पछिल्लो समय समीकरणमा देखिएको विवादपछि देउवालाई सहकार्यको सन्देश पठाएको बताइन्छ । आफू मात्र नभएर आफ्नो पार्टीका नेताहरू समेत एमालेसँग रुष्ट हुन पुगेपछि प्रचण्ड पुरानो गठबन्धन व्युताउन ढिला गर्न नहुने निष्कर्षमा पुगेको बताइन्छ । उनले देउवालाई पुरानै गठबन्धन व्युताउन आफू तयार रहेको सन्देश निकटका नेतामार्फत पुर्याएको बताइन्छ ।
त्यसो कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रचण्डले धोका दिए पनि उनलाई कोर्ष करेक्शन गर्न निरन्तर सन्देश पठाइरहेका थिए । देउवाको यो स्वभावले पनि प्रचण्ड ओलीको अपमान सहेर नबस्ने निष्कर्षमा पुगेको माओवादी निकट स्रोतले बताएको छ ।
जनार्दन बिच्किएपछि पार्टी फुट्ने चिन्ता
त्यसो त यसबीचमा देउवाले माओवादी केन्द्रलाई दबाबमा पार्न उपमहासचिव जनार्दन शर्मालाई प्रयोग गर्ने गरेको चर्चा छ । जसपा फुटाएर आफ्नो सत्ता यात्रा सुनिश्चित गरेका प्रचण्डलाई जनार्दन प्रयोग गरेर पार्टी फुटाउनेसम्मको धम्की देउवाले दिने गरेका थिए ।
शर्माले पार्टीलाई विधानसम्मत नहिँडाएको, बहुमत सदस्यको इच्छा विपरीत एमालेसँग सहकार्य गरेको र पार्टीलाई एमालेमा विलय गराउन खोजेको भन्दै यपार्टी फुटाउने चेतावनी दिँदै आएका थिए । यस कारण पनि प्रचण्डले ओलीसँगको सहकार्य तोड्ने मनसायमा पुगेको शर्मा निकट एक नेताले नेपाल डेलीलाई बताए ।
विश्वस्त छैन कांग्रेस
त्यसो त प्रचण्डले पार्टी निकटका स्रोतबाट पुरानो गठबन्धन व्यूताउने सन्देश बुढानीलकण्ठमा पठाए पनि देउवाले पनि ओली प्रचण्ड दुबैसँग निरन्तर वार्ता गरिरहेका छन् । प्रचण्डको भर नभएको भन्दै उनले ओलीलाई पनि सहकार्यको सन्देश पठाइरहेका छन् ।
सत्ताको झिनाझम्टीमा ओली र प्रचण्डमध्ये जसले चलाखीपूर्ण ढङ्गबाट कांग्रेसलाई हात लिन सक्छ उ सत्तामा र अर्को पार्टी प्रतिपक्षमा पुग्ने सम्भावना देखिन्छ ।