काठमाडौं । टी–२० विश्वकपमा नेपाल र बंगलादेश विरूद्धको म्याचमा झगडा गर्न खोज्ने बंगलादेशी खेलाडीलाई आइसीसीले कारवाही गरेको छ ।
उनलाई आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको हो । मैदानमा नेपालका कप्तान रोहित पौडेलसँग तन्जिम हसन शाकिबले झगडा गरेका थिए । त्यतिबेला उनले नेपाली कप्तानलाई हल्का धक्का समेत दिएका थिए । सोही कारण उनीमाथि आईसीसीले कारबाही गरेको हो ।
बङ्गलादेशका लागि तन्जिम हसनले इनिङ्सको तेस्रो ओभर बलिङ गरेका थिए र आफ्नो ओभर पूरा गर्ने बित्तिकै उनी र रोहित पौडेलबीच झगडा भयो । दुबैबिच शब्दको आदानप्रदान भयो र त्यसपछि तन्जिम रोहित पौडेलको नजिक आएर हल्का धक्का दिए । तर, खेलाडी र अम्पायरले हस्तक्षेप गरेर अवस्था शान्त गराए ।
खेलपछि भएको पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले मैदानमा भएको विवादबारे बताएका थिए । तन्जिमको बलिङको प्रशंसा गर्दै कप्तान पौडेलले खेलमा हिट अफ द मोमेन्ट हुने भन्दै सो घटनालाई सामान्य रुपमा लिनुपर्ने बताए । तर, सो घटनाको सामाजिक सञ्जालमा निकै विरोध भयो । आइसीसीको खेलाडी आचारसंहिता अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीको शरीरमा छुन पाइदैन ।
यही कारणआईसीसीले अहिले तन्जीम हसनविरुद्ध ठूलो कारबाही गरेको छ । उनलाई म्याच फीको १५ प्रतिशत जरिवाना लगाइएको छ र उनले आफ्नो गल्ती पनि स्वीकार गरेका छन् ।