श्रीकेश तेलमा महानगरको छापा, कैफियत पाइएपछि कार्यालयमा ताला

श्रीकेश तेलमा महानगरको छापा, कैफियत पाइएपछि कार्यालयमा ताला

काठमाडौं । श्रीकेश तेलको उत्पादक सप्तऋषि आयुर्वेद कम्पनीमा काठमाडौं महानगरपालिकाले छापा मारेको छ।  महानगरको टोलीले मध्य बानेश्वरस्थित कम्पनीको कार्यालय र कारखानामा छापा मारेको हो। श्रीकेश तेलबारे सञ्चारमाध्यम, सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा समेत गुनासो आएपछि अनुगमन गरिएको महानगरले जनाएको छ।

अनुगमनपछि कार्यालय र कारखाना बन्द गरिएको छ र महानगरले कम्पनीलाई तीन दिनभित्र स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन समय दिएको छ। वडाध्यक्षको रोहबरमा कम्पनी आफैंले कारखानामा ताला लगाएको हो। मापदण्ड अनुसार नचलेको हुनाले ताला लगाउनु परेको हो।

महानगरको निरीक्षण टोलीले ल्याब परीक्षणका लागि तेलको नमुना पनि लगेको छ। नमुना परीक्षणबाट प्राप्त रिपोर्टका आधारमा अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने महानगरको भनाइ छ। रिपोर्ट नआउन्जेल तेल बिक्रीवितरण र प्रचारप्रसारमा रोक लगाइएको छ।  

कपाल झर्न रोक्ने र नयाँ पलाउने भन्दै प्रचार गरिएको श्रीकेश तेलको प्रचार सामग्री पनि काठमाडौं महानगरपालिकाले हटाएको छ। विज्ञापन मापदण्डविपरीत र वडा कार्यालयबाट लिएको स्वीकृतिभन्दा ठूलो बनाएर प्रचार गरेको भन्दै हटाइएको हो।

कपाल उम्रिने लगायत ५ वटा दाबी गरेर चर्को मूल्यमा बिक्री भइरहेको तेलको गुणस्तर पानी जाँच गर्ने ल्याबमा हु्ने गरेको पाइएको महानगरले जनाएको छ। यसैगरी तीन वटा सरकारी निकायबाट प्राप्त व्यापार अनुमतिपत्रमा कतै खुद्रा सामान बेच्ने भनिएको छ त कतै प्याकेजिङ गर्ने भनिएको छ त कतै अर्कै कुरा लेखिएको छ।

तेल उत्पादक कम्पनी सप्तऋषि आयुर्वेदले श्रीकेश तेल ३२ वटा जडीबुटी प्रयोग गरेर बनाइएको दाबी गरेको छ र ४१० एमएल तेलको मूल्य ३ हजार रुपैयाँ राखेको छ।