प्रेमिकाको लागि श्रीमतीको हत्या, लास खोल्सामा फालेर हराएको भन्दै उजुरी

प्रेमिकाको लागि  श्रीमतीको हत्या, लास खोल्सामा फालेर हराएको भन्दै उजुरी

जनकपुरधाम । धनुषाको महेन्द्रनगरबाट जेठ २६ गतेदेखि  बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ सखुवा महेन्द्रनगरकी २८  वर्षीया रुबी यादवको शव शनिबार राति मिथिला नगरपालिका-६ औरहीस्थित सामुदायिक वनको खोल्सामा फेला परेको हो ।

रुबीको हत्या श्रीमान् राजु यादवले गरेको पुष्टि भएको छ । श्रीमतीलाई बेपत्ता पारेको शङ्कामा राजुलाई इलाका प्रहरी कार्यालय सखुवाले गत बिहीबार नै नियन्त्रणमा लिएको थियो ।राजुकै बयानको आधारमा शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए । उनका अनुसार राजुले हत्या गरेको स्वीकार गरिसकेका छन् ।

जेठ २६ बिहानदेखि रुबी बेपत्ता भएपछि भोलिपल्ट माइतपक्षले प्रहरीमा उजुरी दिएका थिए । त्यही दिन बिहानै राजुले औरही बाबाको दर्शन गर्न भनी श्रीमती रुबीलाई लगेर हत्या गरेको प्रहरी निरीक्षक साहले बताए । रुबीका भाइ महोत्तरीको बर्दिवास नगरपालिका–९ का अनित यादवका अनुसार विवादको क्रममा राजुले रुबीलाई कुटपिट तथा यातना दिने गरेका थिए । राजु केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए ।

त्यसपछि पारिवारिक विवाद भएको थियो । उनले आफ्नो अर्की प्रेमीका रहेको पनि खुलाएका छन् । श्रीमती रुबीसँग कुरा नमिलेकोले उसको हत्यापछि अर्को बिहे गर्ने सोचेको उनले बयान दिएका छन् । बेपत्ता हुनुभन्दा पाँच दिनअघि निर्घात कुटपिट गरेपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा छलफल भएको थियो । माइत पक्षले दिएको कर्तव्य ज्यानको जाहेरीको आधारमा राजुमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।

रुबीका ६ वर्षीय छोरा अस्मित यादव छन्