बजेटप्रति किन असन्तुष्ट छन् ओली?

बजेटप्रति किन असन्तुष्ट छन् ओली?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबारे समीक्षा हुन आवश्यक रहेको बताएका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीले चलाइरहेका मन्त्रालयको बजेट विनियोजनको स्थिति पनि हेर्नुपर्ने बताए। अध्यक्ष ओलीले देशलाई गरिबी हुनबाट बचाउनका लागि एमाले सरकारमा गएकाले बजेट कति ठीक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्ने जनाए।

 दिगो विकास लक्ष्य पाँच वर्षभित्र पूरा गर्नुपर्ने भन्दै मुलुकको विकास र गरिबी घटाउन उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने उनकाे भनाइ थियाे। देश बनाउने संकल्प, अठोटसहित उद्यमशीलता बढाउन प्रविधिको प्रयोग गर्नुपर्ने उनको जनाए।

अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई कमजोर पार्ने प्रयासस्वरूप एमालेविरुद्ध प्रतिक्रियावादीले गलत हल्ला फैलाएका तर्फ सचेत रहनुपर्ने बताए। “प्रतिक्रियावादीहरूले देश अगाडि नबढोस् भनेर राष्ट्रिय शक्तिलाई कमजारे पार्न चाहान्छन्”, उनले भने, “भ्रमको जालो फिजाउन, आस्था हटाउने र जनविश्वास कसरी कमजोर बनाउन सकिन्छ भनेर एमालेविरूद्ध लागिपरेका छन् । त्यसलाई चिर्दै अगाडि बढ्नुपर्छ।”

उनले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताए।

एक/दुई जनाको मुख हेरेर सरकारमा छँदै छाैँ भनेर नहुने उनको भनाइ थियो। उनले नेकपा एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजन कस्तो छ भन्नेकुराको समीक्षा गर्न जरुरी रहेको बताए। उनले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न आग्रह गरे। उनले ठिक ठाउँको छलफल, सुझाव, निर्णयबाट मात्रै स्थितिमा परिवर्तन ल्याउना सकिने बताए।

उनले नेकपा एमाले प्रतिक्रियावादी शक्तिहरु जसरी विचार, नीति, उद्देश्य शुन्य, स्वार्थका थैलाहरु बोकेर हिँड्ने पार्टी नभएको बताउनु भयो। उनले स्वार्थका थैलाहरु भर्नका लागि अशिष्टता, असभ्यता, अमर्यदा, अलोकतान्त्रिक तरिकाहरु अवलम्वन गर्ने काममा एमाले नलाग्ने बताए। उनले प्रतिक्रियावादीहरुले नेकपा एमालेबिरुद्ध दिनदिनै नयाँनयाँ अकल्पनिय कुराहरु आविष्कार गरी समाजमा भ्रम पैदा गरिरहेको बताए।