ज्येष्ठ नागरिकले दु:ख पाए, राष्ट्रिय परिचयपत्र घरमै उपलब्ध गराउने व्यवस्था गरौं : सांसद पोखरेल

ज्येष्ठ नागरिकले दु:ख पाए, राष्ट्रिय परिचयपत्र घरमै उपलब्ध गराउने व्यवस्था गरौं : सांसद पोखरेल

काठमाडौं । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई राष्ट्रिय परिचयपत्र घरमै उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेलले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि ज्येष्ठ नागरिकहरूले सास्ती खेप्नुपरेको भन्दै पूर्वतयारी गरेर अर्को वर्षदेखि लागू हुने गरी घरमै उपलब्ध गराउन माग गरेका हुन्।राहदानी बनाउन र नवीकरणका लागि अनिवार्य रहेको राष्ट्रिय परिचयपत्र सामाजिक सुरक्षा भत्तामा समेत लागू गरिने भएपछि त्यसको प्रत्यक्ष मारमा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरू परेको भन्दै यो निर्णय तत्काल रोक्नुपर्ने उनले बताए।

'राष्ट्रिय परिचयपत्र अथवा पञ्जीकरण विभागले  आगामी वर्षका लागि सामाजिक सुरक्षाको भत्ताका लागि नवीकरणका सर्कुलर पठाएको छ। त्यसमा दुईवटा नयाँ शर्तहरू थपेको छ। राष्ट्रिय परिचयपत्र नम्बर र साउनमा बायोमेट्रिक दुवै गरिनुपर्छ भनेको छ। आज देशभरका वडा कार्यालयहरू, इलाका प्रशासन कार्यालयहरू, जिल्ला प्रशासन कार्यालयहरुमा अपांगता, बिरामी ८०/ ९०/ १०० वर्षका ज्येष्ठ नागरिकहरूका सन्तानले विभिन्न विधि अपनाएर यी तीनै कार्यालयमा जेष्ठ नागरिकलाई पुर्‍याइरहेका छन्। त्यहाँ ठूलो चाप छ।

राष्ट्रिय परिचयपत्रको फोटो खिच्ने क्रममा कहिँ अनलाइन भयो कहीँ अफलाइन भयो,' उनले भने, 'अफलाइन भएको ठाउँमा रेकर्डेड छैन। फेरि नम्बर खोजेर वडा कार्यालयमा कायम गर्नुपर्छ। फेरि त्यसलाई प्रमाणित गर्न जिल्ला प्रशासन कार्यालय वा सीडीयो कार्यालयमा जानुपर्छ। यो परिस्थितिले अपांग,ज्येष्ठ नागरिक र बिरामीहरूको अवस्था दयनीय भएको छ। यसकारण म सभामुखमार्फत नेपाल सरकारसँग आग्रह गर्न चाहन्छु। परिचयपत्र नम्बर राख्नु राम्रो कुरा छ। तर, त्यस्तो पूर्व तयारीबेगर आज जुन सामाजिक आतंक सृजना भएको छ। अपांगता, बिरामी, ज्येष्ठ नागरिकहरूले दु:ख पाइरहेका छन्।'

सांसद पोखरेलले हरेक घरघरमा टोली पठाएर ज्येष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउनुपर्नेमा जोड दिए। उनले भने, 'परिचयपत्रको व्यवस्थापन गरेर ,घरमा बायोमेट्रिक गराएर अर्को वर्षदेखि लागू हुनेगरी यो वर्ष यी प्रक्रियालाई रोक्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।'