तीन दिनपछि काठमाडौँ भित्रिनेछ मनसुन, तापक्रम ३४ डिग्री सेल्सियसभन्दा माथि

तीन दिनपछि काठमाडौँ भित्रिनेछ मनसुन, तापक्रम ३४ डिग्री सेल्सियसभन्दा माथि

काठमाडौँ । काठमाण्डौ उपत्यकामा गर्मी निकै बढेको छ । रातको समयमा गर्मी धेरै भएकाले विशेषगरी माथिल्लो तलामा सुत्नसमेत समस्या हुने गरेको छ ।

बितेका ३० वर्षको तथ्याङ्कलाई आधार मान्दा जुन महिनामा काठमाडौँको सरदर अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस हो । तर गएको जुन १० अर्थात् जेठ २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वचालित मौसम मापन केन्द्रमा ३४ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । गएको वर्षको जुन १० तारिखमा काठमाण्डौको अकितम तापक्रम ३३ दशमलव ३ डिग्री सेल्सियस थियो ।

यसैबीच अस्ति सोमवार कोशी प्रदेश हुँदै नेपाल भित्रिएको मनसुन शनिवारसम्ममा काठमाडौँ उपत्यकामा भित्रिने भएको छ । अहिले कोशी प्रदेशमै रहेको मनसुन शनिवारसम्ममा काठमाडौँ उपत्यका आइपुग्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्रध्यापक विनोद पोख्रेलले जानकारी दिए ।

मनसुन पूर्वी नेपालबाट भित्रिएर झन्डै एक हप्तामा देशभर फैलन्छ । अहिले कोशी प्रदेशबाहेकका ठाउँमा स्थानीय र पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ ।

अन्य वर्षभन्दा यस वर्ष अत्याधिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।