कोशी सरकार गठनविरुद्धको मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासमा

कोशी सरकार गठनविरुद्धको मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र ढकालको इजलासमा

काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।

बुधबार उक्त रिट निवेदन न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो । पूर्वमुख्यमन्त्री केदार कार्कीका तर्फबाट सुप्रेक्षा जोशीले दायर गरेको रिटमा हिक्मत कार्की नेतृत्वको सरकार गठन प्रक्रिया असंवैधानिक रहेको जिकिर गरिएको छ । कार्कीले आफू संविधानको धारा १६८ को उपधारा ५ बमोजिम अन्तिम विकल्पका रुपमा मुख्यमन्त्री नियुक्त भएको भन्दै आफ्नै नेतृत्वको सरकार कायम गराउन परमादेश माग गरेका छन् ।

रिटमा कोशी प्रदेश प्रमुख कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर बिस्ट, सङ्कल्प प्रस्तावका प्रस्तावक रेवतीरमण भण्डारी, समर्थकहरू गणेशप्रसाद उप्रेती, किशोरचन्द्र दुलाल र नेकपा एमालेका संसदीय दलका नेता तथा वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विपक्षी बनाइएको छ ।