ओली र बालेन आमने सामने

ओली र बालेन आमने सामने

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेपालको राजनीतिमा स्थापित दलहरूका निम्ति टाउको दुखाइको पात्र बन्दै गएका छन्। उनको शैलीलाई लिएर राजनीतिक वृत्तमा विभिन्न दलका शीर्ष नेताहरू समेत सोच्न बाध्य हुने गरेका छन्।

पछिल्लो समय सिंहदरबारमा आगो लगाइदिने लगायतका अभिव्यक्ति सामाजिक सञ्जालमा व्यक्त गरेका बालेनलाई प्रचण्डले कारबाहीको सिफारिस गरेपनि कांग्रेस सभापति शेरबहादुर देउवाले रोकेको विषय निकै चर्चित बनेको थियो।

अहिले पुनः बालेन र एमाले अध्यक्ष केपी शर्मा ओली आमनेसामने बनेका छन्। बालेनले नेकपा एमालेका अध्यक्ष ओलीको कडा शब्दमा आलोचना गरेका छन्।

गिरीबन्धुको टी-स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई समेत जोड्दै बालेनले पीडितको बैना फिर्ता गर्न भनेका छन्। बालेनको पछिल्लो सक्रियतामा नागरिकहरू विभाजित भएका छन्। कतिले प्रशंसा गरेका छन् भने कतिपयले तानाशाही शैलीमा राज बन्न लागेको आरोप लगाएका छन्।
 
गिरीबन्धु चिया बगानको जग्गामा भएको नीतिगत भ्रष्टाचारमा ओलीको संलग्नता नहोला भन्न नसकिने बालेनको आशय छ। १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउन समेत बालेनको सुझाव रहेको छ।

गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा ओलीको सहभागिताको इतिहास हेर्दा त्यहाँ ओलीले नभनी पात पनि हल्लन्छ भन्ने आफूलाई नलागेको बालेनको तर्क छ।
 
न्युरोडको फुटपाथ क्षेत्र बढाउन काठमाडौं महानगरपालिकाले गरेको प्रयासमा सरकारले गरेको असहयोगप्रति बालेन रुष्ट छन्। महानगरपालिकाले सडकको पिच भत्काइसकेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको डिभिजन सडक कार्यालयले पिच गरेको छ। बालेनले न्युरोडको साटो काठमाडौंको रिङरोड र बुटवल–चितवन खण्डको सडक बनाउन शक्ति लगाउन पनि ओलीलाई सुझाव दिएका छन्।