काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। बालुवाटार स्रोतका अनुसार यसै साता मन्त्रिपरिषद् पुनर्गठन हुनेछ।
प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने तयारी थालेका छन्। सरकारलाई विश्वासको मत दिएर पनि अहिलेसम्म सरकारमा सहभागी नभएको नाउपा सरकारमा सहभागी हुन सकारात्मक देखिएसँगै प्रचण्डले मन्त्रिरिषद् पुनर्गठनको तयारी गरेका हुन्।
बालुवाटार स्रोतका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङलाई नेकपा (माओवादी केन्द्र) ले फिर्ता बोलाउने तयारी गरेको छ। सो मन्त्रालय नाउपालाई दिने तयारी रहेको छ। नाउपाबाट रञ्जिता श्रेष्ठले उक्त मन्त्रालयको नेतृत्व गर्ने भएकी छन्।
श्रेष्ठले यसअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भइसकेकी थिइन्। नाउपाले यसपटक एक मन्त्रीसहित एक राज्यमन्त्रीको जिम्मेवारी पनि पाउने भएको छ । राज्यमन्त्रीमा भने अरुण चौधरीलाई पठाउने तयारी रहेको बताइएको छ।