गिरीबन्धुबारे बालेनलाई सोध्नुः केपी ओली

गिरीबन्धुबारे बालेनलाई सोध्नुः केपी ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहबीच विवाद चुलिएको छ। काठमाडौं महानगर प्रमुख शाहले आज विहान एमाले अध्यक्ष ओलीले गिरीबन्धु टि स्टेट जग्गा प्रकरणमा एक खर्ब (१० हजार करोड) भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

आज संसद् भवन परिषरमा सञ्चारकर्मीहरुले एमाले अध्यक्ष ओलीलाई गिरीबन्धुबारे जिज्ञासा राखेका थिए। सञ्चारकर्मीहरुको जिज्ञासामा ओलीले ‘बालेनलाई सोध्नु’ भन्दै पन्छिए।

उसो त एमाले अध्यक्ष ओली लामो समयदेखि काठमाडौं महानगरका मेयर बालेनको विरुद्ध खनिँदै आएको थिए। बालेनले सुकुम्बासी र गरिबलाई देखिनसहेको भन्दै यसअघि ओलीले कडा आलोचना गरेका थिए।

अध्यक्ष ओलीले भत्काउने अभियान नभएर बनाउने अभियान चलाउन भनेका थिए। उनले सुकुम्बासीमाथि ज्यादती नगर्न चेतावनीसमेत दिएका थिए । सुकुम्बासीको छाप्रोमा गएर लालाबाला तर्साउँदैमा बहादुरी नहुने उनको टिप्पाणी थियो।

त्यस्तै, बालेनको निर्देशनमा काठमाडौं महानगरको गाडीले सडक विभाग अगाडि फोहोर थुपारिदिएको थियो । संघीय सरकारले विगत १५ वर्षदेखि कलङ्कीदेखि महाराजगञ्जसम्मको सडक नबनाएर जनतालाई सास्ती दिएको बालेनको आरोप थियो ।

बालेनको उक्त कार्यविरुद्ध पनि ओली आलोचनामा उत्रिए । उनले आफ्नो घरको फोहोर छिमेकीको दैलोमा लगेर खसाल्नुलाई बहादुरी नभनिने भन्दै बालेनको आलोचना गरे ।

यसरी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा वाकयुद्ध गरीरहेका ओलीविरुद्ध आज विहान बालेनले गिरीबन्धु अश्त्र प्रहार गरेका थिए ।