टोकीयो । नेकपा (माओवादी केन्द्र) निकट प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा गणतन्त्र दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
जापानको राजधानी सहर टोकीयोमा नेपाली जनताको लामो संघर्ष र त्यागबाट प्राप्त भएको गणतन्त्र १६ वर्ष पूरा भएको अवसरमा मञ्चले जापानमा क्रियाशिल संघ संस्थाको प्रतिनिधिहरूको समेत उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो । जनयुद्ध र जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते दुई सय ४० वर्ष लामो शाहवंशीय राजा परम्पराको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको थियो ।
त्यस्तै नेकपा माओवादी केन्द्र ऐसिया प्रदेश संगठनका उपाध्यक्ष डा भुपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मञ्चका वरिष्ट उपाध्यक्ष श्यामहरि पाण्डेले अतिथिहरूका लागि स्वागत मन्तव्य तथा उपाध्यक्ष बाबुराम पौडेलले कार्यक्रमको उद्वेश्यको बारेमा प्रष्ट पारेको मञ्चका प्रवक्ता जिपि लामिछानेले जानकारी दिए । कार्यक्रमलाई पानसमा वत्ति बालेर उद्घाटन गरिएको थियो ।
कार्यक्रमलाई संवोधन गर्दै नेपाली जनताबाट चुनिएका जनको प्रतिनिधिबाट संविधान बन्नु र वंश परम्परामा आधारित शासन व्यवस्थाको अन्त्य गरेर जनताका छोराछोरी नै राष्ट्र प्रमुख हुने हैसियत बनाउनु गणतन्त्रको मूलभूत विशेषता रहेकोमा वक्ताहरूले जोडदिएका थिए । त्यस्तै वक्ताहरूले गणतन्त्र भनेको विधिको शासन पनि हो जहाँ विधि र कानुनको सर्वोच्वता हुन्छ, न्याय हुन्छ, समानता हुन्छ, स्वतन्त्रता हुन्छ, पारदर्शिता हुन्छ, उत्तरदायित्वको बोध हुन्छ र अभिव्यक्ति स्वतन्त्रता, राज्यका हरेक निकायमा हरेक समुदाय, क्षेत्र, लिङ्गको समानुपातिक समावेशी प्रतिनिधित्व, धार्मिक स्वतन्त्रता गणतन्त्रले दिएको उपहार रहेको वताएका थिए ।
मञ्चका अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा जापानका लागि पर्यटन दुत रामहरी पुडासैनी, एनआरएनए जापाना अध्यक्ष नविन निउरे, नेपाली राजदुतावासका प्रतिनिधि नारायण ज्ञावाली, नेकपा माओवादी केन्द्र प्रदेश कमिटीका सदस्य राजु लामा, ईन्चार्ज सालिकराम भण्डारी, विभिन्न पार्टीका प्रवासी संगठनका नेतागण, जापानमा क्रियाशिल नेपाली संघ संस्थाका प्रतिनिधि, लगायतको उपस्थिति रहेको प्रवक्ता लामिछानेले वताउनु वताएका थिए । त्यस्तै कार्यक्रम मञ्चका महासचिव दावा शेर्पा लामाले सञ्चालन गरेका थिए ।