केन्याका यी पर्वतारोही, जसको शव सगरमाथामै छोड्न चाहन्छ परिवार

केन्याका यी पर्वतारोही, जसको शव सगरमाथामै छोड्न चाहन्छ परिवार

काठमाडौं । सगरमाथा आरोहणका क्रममा मृत्यु भएका केन्याका पर्वतारोही जोशुवा चेरुत्योट किरुतको शव सगरमाथामै छोडिने उनको परिवारले जनाएको छ ।

‘सप्लिमेन्टरी’ अक्सिजनको अभावमा गएको साता उनको मृत्यु भएको थियो । ४० वर्षीय उनी सगरमाथाको शिखरबाट ४८ मिटर तल आएपछि खसेको जनाइएको छ । उनीसँगै नेपाली गाइड पनि थिए ।त्यति उच्च स्थानबाट उनको शव तान्न उद्धार टोलीलाई कठिनाइ भएको उनको परिवारले जनाएको छ । नेपालको पर्यटन विभागका अधिकारीहरूले भने शव हिमालमा छोड्नु कानुनविपरीत हुने जनाएका छन् । अनुभवी पर्वतारोहीलाई समेत सगरमाथा आरोहण निकै कठिन मानिन्छ ।

जोशुवाले अक्सिजन प्रयोग नगरी आफू सगरमाथा आरोहण गर्ने पहिलो अफ्रिकी हुने आशा लिएका थिए । उनले नेपाली पर्वतारोही नवाङ शेर्पासँगै सगरमाथा आरोहण गरेका थिए । शेर्पा भने अझै हराइरहेका छन् ।जोशुवाको परिवारले गएको बुधबार जारी गरेको विज्ञप्तिमा सबै घटनालाई विचार गरेर उनको शव सगरमाथामा नै छोड्ने निर्णय गरिएको जनाएको छ । उनको शव बाहिर तान्न करिब एक लाख ९० हजार डलर खर्च हुने र त्यसका निम्ति आठ मानिस आवश्यक पर्ने जनाइएको छ ।

नेपाली अधिकारीहरूले भने जोशुवाको एक्सपिडिसन अपरेटरले अर्को पर्वतारोहण सेसनसम्म उनको शव ल्याइने प्रतिबद्धतापत्र दिनुपर्ने जनाएका छन् । अधिकारीहरूले जोशुवाको शव निकाल्न सकिने स्थानमा नै रहेको समेत जनाएका छन् । अहिले पनि सगरमाथामा २०० देखि ३३० शव छोडिएको अवस्थामा रहेको जनाइएको छ ।