सिरोहियालाई नागरिकता दिने कर्मचारीलाई पनि पक्राउ गर्ने तयारी

सिरोहियालाई नागरिकता दिने कर्मचारीलाई पनि पक्राउ गर्ने तयारी

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता सम्बन्धी अनुसन्धानलाई फराकिलो बनाउँदै प्रहरीले दुई जनालाई पक्राउ गर्ने अनुमति लिएको छ ।

नाममा वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र  प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहाललाई अनुसन्धानको दायरामा ल्याएको छ। ०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए । उनका बुवा स्व. घासीराम मारवाडीको नागरिकता अंकिकृत थियो । तर सिरोहियालाई वंशजको नागरिकता जारी गरिएको अनुसन्धानबाट खुलेको छ ।

सिरोहियाको वंशज नागरिकता तत्कालिन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईले जारी गरेका थिए । उनको पहिलो प्रतिलिपी भने तत्कालीन शाखा अधिकृत काशिराज दाहालले दिएका हुन् । उनी दुबै जनालाई हिरासतमा लिएर अनुसन्धान गर्न अदालतबाट पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।

सिरोहिया हिरासतमा रहेका बेला अनुसन्धानका लागि प्रतिलिपी जारी गरेका तत्कालीन शाखा अधिकृत दाहाललाई पनि धनुषा प्रहरीले बोलाएका थिए । ‘दाहालले दिएको बयान र प्रहरीले गरेको अनुसन्धानबीच तालमेल देखिएको छैन’, एक प्रहरी अधिकारीले भने, ‘यो गम्भीर विषय बनेको छ । त्यसैले हिरासतमा लिएर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमती दिइसकेको छ ।’

सिरोहियालाई नागरिकता ऐन २०२० अनुसार वंशजको नागरिकता दिइएको नागरिकतामा उल्लेख छ । तर नागरिकता जारी भएको मितिसम्म उक्त ऐन लागु भएकै थिएन । त्यसैले तत्कालीन शाखा अधिकृत दाहाल अनुसन्धानमा तानिएका एक प्रहरी अधिकारीको भनाई छ ।

सिरोहिया जनकपुरधाम उपमहानगरपालिका १ का स्थायी बासिन्दा हुन् । उनको बुवाको नागरिकतामा पनि वडा नम्बर १ नै उल्लेख छ । तर सिरोहियाले वडा नम्बर ५ बाट नागरिकता लिएको देखिन्छ । स्रोतका अनुसार वंशज नागरिकता बनाउकै लागि अर्को वडाबाट उनले सिफारिश गराएका थिए ।

सिरोहियाको नागरिकता जारी गर्ने कर्मचारीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको हो भन्ने जिज्ञासामा धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले अहिले त्यो विषयमा केहि बोल्न नमिल्ने बताए ।