बजेट स्वागतयोग्य : अध्यक्ष ढकाल

बजेट स्वागतयोग्य : अध्यक्ष ढकाल

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट लगानीमैत्री आएको प्रतिक्रिया दिए।

महासङ्घले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो। सोही अनुरूप आयोग बन्ने र बजेटले सुधार वर्ष घोषणा गरेकाले बजेट स्वागतयोग्य रहेको उनले बताए।

“महासङ्घले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने भनिएको छ, कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आएको छ, पर्यटन प्रवर्द्धन, वैवाहिक पर्यटन विकास गर्ने विषय आएका छन् र सूचना प्रविधि र नवप्रवद्र्धन बचत गाउँमा केही सहुलियत र विस्तारका योजना छन्”, उनले भने, “ महासङ्घको माग अनुसार नै निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ।”

बाँकी राजस्वमा भएको परिवर्तन अन्य विषयका असरका बारेमा आर्थिक विधेयक हेरेर महासङ्घले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्ने उनको भनाइ छ।