महिलाहरुले मात्रै ताने रातो मच्छिन्द्रनाथको रथ

महिलाहरुले मात्रै ताने रातो मच्छिन्द्रनाथको रथ

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ महिलाहरुले तानेका छन् । बिहीबार बिहान वर्षा र सहकालका देवता भनेर पुजिने रातो मत्स्येन्द्रनाथको रथ महिलाहरूले तानेर ललितपुरको थटिटोलसम्म पुर्‍याएका छन् । 

हरेक बर्ष नरिवल खसाल्ने जात्राको भोलिपल्ट महिलाहरूले रथ तान्ने परम्परा रहेको छ । एक किंवदन्ती अनुसार मत्स्येन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा गराउँदै हराएको र एकजना महिलासँग रहेको पत्ता लागेपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले मात्रै रथ तान्ने परम्परा रहेको संस्कृतिविद्हरूको भनाइ छ ।

अब केही दिनमा ज्योतिषीले रातो मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ । मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मत्स्येन्द्रनाथका ज्योतिषीले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन् । साइतमा तानिएको रथ जावलाखेल पुर्‍यााइएपछि चार दिनपछि भोटो जात्रा मनाइन्छ । जावलाखेलमा भोटो देखाएपछि मत्स्येन्द्रनाथको जात्रा सम्पन्न हुन्छ ।