सिरोहियालाई कांग्रेसको साथः भेट्न कान्तिपुरको कार्यालयमै कांग्रेस नेताहरु

सिरोहियालाई कांग्रेसको साथः  भेट्न कान्तिपुरको कार्यालयमै कांग्रेस नेताहरु

काठमाडौँ । पक्राउ पुर्जी जारी भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न पुगेका छन् । 

सिरोहियालाई भेट्न पूर्वमन्त्री एनपी साउदसहित दीपक गिरी, रामनाथ अधिकारी, वीरबहादुर बलायर, राजेन्द्र बजगाइँ, चन्दा चौधरीलगायत कान्तिपुर कम्प्लेक्समा पुगेका हुन् ।

जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध मङ्गलबार पक्राउ पुर्जी जारी गरेको हो । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । 

कांग्रेस सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा सरकारले कारबाही गरे आफूहरूको साथ रहने सिरोहियालाई बताएको कांग्रेस सांसद रामहरि खतिवडाले जानकारी दिए । 

यता आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको सिरोहियाको दाबी थियो । उनले भने, ‘यस्ता कुनै पनि ब्लाकमेलिङ र राजनीतिक ब्ल्याकमेलिङबाट हामी कति पनि विचलित नभई आफ्नो कर्तव्य पूरा गर्छौँ ।’

‘व्यक्तिगतरुपमा म जस्तो पनि अनुसन्धान भोग्नका लागि तयार छु,’ कांग्रेस नेताहरूसँग सिरोहियाले भने, ‘तर कान्तिपुर मिडिया ग्रुपलाई राजनीतिक सौदाबाजी गरेको मलाई मान्य छैन । यसका लागि तपाईंहरूको ऐक्यबद्धताका लागि तपाईंहरूलाई धन्यवाद ।’