काठमाडौँमा एक प्रहरी जवान मृत फेला, घटना शंकास्पद

काठमाडौँमा एक प्रहरी जवान मृत फेला, घटना शंकास्पद

काठमाडौँ । काठमाडौँको तार्केश्वर–९, मनमैजुमा ट्राफिक प्रहरी जवान मृत फेला परेको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दरबारमार्गस्थित ट्राफिक प्रहरी प्रभागा कार्यरत  प्रहरी जवान युवराज घिमिरे शुक्रबार मनमैजुस्थित निर्माणाधीन घरमा मृत भेटिएका हुन्। 

‘घटना शंकास्पद देखिएको छ’, प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी नवराज अधिकारीले शनिबार बिहान भने, ‘अनुसन्धान जारी छ।’पोस्टमार्टमका लागि प्रहरी जवान घिमिरेको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको उनले बताए।  गत बिहीबार ड्युटी सकेर कार्यालयबाट निस्किएका प्रहरी जवान घिमिरे त्यसयता फर्किएका थिएनन्।

शुक्रबार अपराह्न स्थानीयले खबर गरेपछि प्रहरी घिमिरेको शव भएको स्थानमा पुगेको थियो। उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ घर भएका घिमिरे सामाखुसीमा डेरा गरी बस्थे।