१६औं योजनाको लक्ष्य: ५ वर्षमा प्रतिव्यक्ति आय २३ सय ५१ डलर

१६औं योजनाको लक्ष्य: ५ वर्षमा प्रतिव्यक्ति आय २३ सय ५१ डलर

राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८५/८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्‍याउने गरी १६औं आवधिक योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । आर्थिक वर्ष २०८५/८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्‍याउने गरी राष्ट्रिय योजना आयोगले १६औं आवधिक योजना सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले स्वीकृत गरेको योजना बुधबार राष्ट्रिय योजना आयोगले सार्वजनिक गरी प्रतिव्यक्ति आय बढ्ने जनाएको हो । आर्थिक वर्ष २०८५/८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने लक्ष्य पनि आयोगले लिएको छ ।

२०८५/८६ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य १६औं योजनाले लिएको छ । यस्तै गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने पनि आयोगको लक्ष्य छ । मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य १६ औं योजनाले लिएको हो । यस्तै औसत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पु¥याउँदा बेरोजगारी दर ५ प्रतिशतमा सीमित गर्ने १६औं योजनाको लक्ष्य छ ।

यस्तै विद्युत उत्पादन ११ हजार ७ सय ६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसंख्यामा पुर्‍याउने र इन्टरनेट ९० प्रतिशत जनसंख्यामा पुर्‍याउने लक्ष्य लिएको छ । १६औं योजनामा औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य लिएको छ । चालु आव ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान सार्वजनिक भइसकेको छ ।

आगामी आव २०८१/८२ मा ६ प्रतिशत, २०८२/८३ मा ६.६, २०८३/८४ मा ७.४, २०८४/८५ मा ७.९ र २०८५/८६ मा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य १६औं योजनाले लिएको छ ।