काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिने भएको छ । यसबारे निर्णय गराउन आज केन्द्रीय कमिटी बैठक बोलाईएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा गरेर बाटो खोलिदिन आज सन्देश पठाएका थिए । लगत्तै मधेशमा जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिँदै गठबन्धन घटकको एमाले र माओवादीले समर्थन फिर्ता लिइसकेको छ ।
एमाले र माओवादीको मधेश कदमले दबाबमा परेका यादवले कार्यकारिणी बैठकमा समर्थन फिर्ताको प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्रीबाट गलहत्त्याइनुभन्दा आफैँले सरकार छोड्नु उचित हुने जसपा नेपालको निष्कर्ष छ । आज केन्द्रीय समिति बैठकसँगै उपेन्द्रले राजीनामा दिने पार्टी निकट स्रोतले बतायो ।