इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय

इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय

सरकारविरोधी आन्दोलनमा सामेल भएको भन्दै इरानमा एक र्‍यापरलाई मृत्यृदण्ड सुनाइएको छ । बीबीसीका अनुसार, उनका वकिलले यो खबरको पुष्टि गरेका छन् । 

सन् २०२२ मा प्रहरीको हिरासतमा महसा अमिनीको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनलाई र्‍यापर तुमाज सालेहीले गीत गाएर समर्थन गरेका थिए । 

उनको वकिल आमिर रइसियनले सजायविरुद्ध पुनरावेदनमा जाने बताएका छन् । इरानी प्रशासनले अहिलेसम्म यसबारे टिप्पणी गरेको छैन । मृत्यदण्ड सुनाइएका सालेहीलाई अक्टोबर २०२२ मा गिरफ्तार गरिएको थियो । त्यो बेला उनले प्रदर्शनको समर्थनमा सार्वजनिक रूपमा बोलेका थिए । उनीविरुद्ध अन्य केही मुद्दा पनि लगाइएको थियो । जुलाई २०२३ मा उनलाई ६ वर्ष ३ महिनाको जेल सजाय सुनाइयो । तर, यसै वर्षको जनवरीमा इस्फहानको एक अदालतले सालेहीमाथि नयाँ आरोप तय गर्‍यो । 

सालेहीलाई अदालतले भ्रष्टाचार, सरकारविरुद्ध भ्रम फैलाएको र दंगा भड्काएकोजस्ता विभिन्न आरोपमा दोषी ठहर्‍यायो । मृत्यदण्डको सजायविरुद्ध अपिल गर्न अब उनीसँग २० दिनको समय छ ।