काठमाडौं । नेपाल र कतारबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठक सम्पन्न भएपछि नेपाल र कतारबीच आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारको नेतृत्व कतारका अमिर शेख तमिम विन हमाद अल थानीले गरेका थिए । “बैठकपछि नेपाल र कतारबीच सरकारी तहमा ६ र निजी क्षेत्रबीच दुई गरी कुल आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ,” परराष्ट्र मन्त्रालयको प्रवक्ता अमृत राईले भने ।
परराष्ट्र प्रवक्ता राईका अनुसार बुधबार नेपाल र कतारबीच कला तथा साँस्कृतिक, शिक्षा, युवा तथा खेलकुद, दुई देशका महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रिय समाचार समिति र कतारी न्युज एजेन्सीबीच सहकार्य, पराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र कतारको यस्तै प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएका छन् ।
यस्तै, नेपालको उद्योग वाणिज्य महासंघ र कतारको उद्योग वाणिज्य महासंघबीच दुई वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सबै समझदारीपत्रको उदेश्य सहकार्य र सहयोग आदानप्रदान गर्ने रहेको छ ।