राष्ट्रियसभामा भाग पाउने भएपछि दिनहुँ बालुवाटार धाउँदै ओली

राष्ट्रियसभामा भाग पाउने भएपछि दिनहुँ बालुवाटार धाउँदै ओली

काठमाडौँ । ११ माघमा हुने राष्ट्रियसभा चुनावका लागि सिट बाँडफाँटबारे सत्ता गठबन्धनसँग छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठक सकिएलगत्तै अहिले ओली बालुवाटार पुगेका हुन् । 

यसअघि आज बिहान कांग्रेस र माओवादीबीचको छलफलमा एमालेलाई पनि राष्ट्रियसभा चुनावमा समेट्ने कुरा भएको थियो । अहिले गठबन्धनमा छलफलपछि एमाले अध्यक्ष बालुवाटार पुग्नुलाई सत्ता गठबन्धन र एमाले मिलेरै राष्ट्रियसभा चुनावमा जाने सम्भवना बढेको छ । 

फागुनमा रिक्त हुने राष्ट्रियसभाका २० सिटमध्ये १९ सिटका लागि ११ माघमा चुनाव हुँदैछ । एमालेका  ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । 

जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने छ ।यही २३ पुसमा उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका छ । 

एमालेबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, नरपति लुहार, रामचन्द्र राई र सरकारको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गरेकी एमालेकी विमला राई पौड्याल र डा। खिमलाल देवकोटाले बिदा लिँदै छन्।

यस्तै, कांग्रेसबाट संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ र जितेन्द्रनारायण देवले बिदा लिँदै छन्। माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी तथा एकीकृत समाजवादीबाट भौतिक तथा यातायात राज्यमन्त्री नन्दा चपाईं र सिंहबहादुर विश्वकर्माले बिदा लिँदै छन्। जनता समाजवादी पार्टीबाट शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादव पनि बिदा हुँदै छन्।  

निर्वाचन आयोगले अहिले राष्ट्रियसभा सदस्यको लागि मतदाताको मतभारमा नयाँ व्यवस्था लागु गरेपछि प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम भएको छ।

जसअनुसार कोसीमा प्रदेशसभा सदस्यको संख्या ९३ छ र स्थानीय तहको संख्या १३७ छ। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको संख्या २७४ हुनेछ। यसरी कोसी प्रदेशको कुन मतदाता ३६७ र कुल मतभार १० हजार १३५ हुनेछ।