काठमाडौं । नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।
गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल खायो । खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन ।
ललितपुरका लागि पहिलो हाफको अन्तिम समयमा इमोह इजेकेल, ५० औं मिनेटमा दिनेश हेमजन र ५८ औं मिनेटमा पनि इमोह इजेकेलले गोल गरे । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ ।