‘टु-जी’ जस्तो देखिने माओवादीलाई ‘सिक्स-जी’ बनाउनुपर्ने छ

‘टु-जी’ जस्तो देखिने माओवादीलाई ‘सिक्स-जी’ बनाउनुपर्ने छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले निर्वाचित कमिटीका लागि व्यापक लोकतान्त्रिक अभ्यास गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बाग्मती प्रदेश इञ्चार्ज समेत रहेका शर्माले काठमाडौं महानगरको ३२ नम्बर वडाको पाँचौं सम्मेलनलाई सोमबार सम्बोधन गर्दै कार्यकर्ताबाट नेता चुन्ने परिपाटी सुरु गर्न निर्देशन दिएका हुन् । आवधिक र अपडेट रहने पार्टी कमिटी गठन गर्न सम्मेलनलाई शुभकामना दिँदै शर्माले नेताले नभई कार्यकर्ताले कमिटी बनाउने शैली जरुरी रहेको बताए ।

आगामी चुनावमा माओवादीले कसैको वैशाखी नटेकी एक्लै लड्ने ल्याकत राख्नुपर्ने भन्दै उनले त्यसको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिए । आगामी आम निर्वाचनको चर्चाबारे बोल्दै शर्माले भने, ‘मिसन ८४ नेतालाई चाहिएको होला तर जनतालाई मिसन रोजगारी, मिसन समृद्धि, मिसन सामाजिक न्याय, मिसन आत्मनिर्भरता र सुशासन चाहिएको छ ।’

माओवादी पार्टीलाई नयाँ ढंगले पुनःपरिभाषित र पुनर्सङ्गठित गर्नुपर्ने भन्दै उनले भने, ‘टु–जी जस्तो देखिने माओवादीलाई सिक्स–जी जस्तो स्मार्ट बनाउनुपर्ने छ ।’