३३  सांसद निलम्बित, कंग्रेसको आपत्ति

३३  सांसद निलम्बित, कंग्रेसको आपत्ति

काठमाडौँ । भारतीय राष्ट्रिय कंग्रेसले नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारमाथि संसद् र लोकतन्त्रमाथि आक्रमणको आरोप लगाएको छ । सोमबार लोकसभाका थप ३३ सदस्यलाई निलम्बन गरिएपछि कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले मोदी सरकारले संसद् र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहेको बताएका हुन् ।

अध्यक्ष खड्गेले भनेका छन्,'पहिला घुसपैठीले संसद्‍मा आक्रमण गरे । त्यसपछि मोदी सरकारले संसद् र लोकतन्त्रमाथि आक्रमण गरिरहेका छन् ।'

यसअघि पनि भारतीय लोकसभाका १३ र राज्यसभाका १ सदस्यलाई शीतकालीन सत्रको बाँकी समयका लागि निलम्बित गरिएको छ । कंग्रेस अध्यक्ष खड्गेले 'तानाशाही' मोदी सरकारले सांसदहरूलाई निलम्बन गरेर 'सबै लोकतान्त्रिक मूल्य मान्यतालाई डस्टबिनमा फ्याँकिदिएको' पनि बताएका छन् । सोमबार निलम्बन हुने सांसदमा कंग्रेस नेता अधीर रञ्जन चौधरीसमेत रहेका छन् ।

कंग्रेस, तृणमूल कंग्रेस, डीएमकेलगायतका विपक्षी सांसदलाई सोमबार संसद्‍मा नाराबाजी र प्लेकार्ड बोकेको आरोपमा निलम्बन गरिएको जनाइएको छ । विपक्षी दलहरूले संसद्‍मा भएको आक्रमणका विषयमा गृहमन्त्री अमित शाहको जवाफ मागिरहेका छन् । कंग्रेसले अब मोदी सरकारले विपक्षीविहीन संसद् चलाउन चाहेकोसमेत आरोप लगाएको छ । अध्यक्ष खड्गेले भनेका छन्, 'बिनाविपक्षको संसद्का साथ मोदी सरकारले अब लामो समयदेखि विचाराधीन अवस्थामा रहेका कानुन लाद्न सक्छन् । कुनै पनि असहमतिलाई बिनाबहस सरकारले कुल्चिन सक्छ ।'

भारतको संसद् भवनभित्रै पुगेर केही युवाले गरेको प्रदर्शनको घटनाले संसद्को सुरक्षा बन्दोबस्तीमाथि एक पटक पुनः प्रश्न उठेको हो। गत बुधबार नयाँ संसद् भवनमा लोकसभाको बैठक भइरहेकै बेला दर्शकदीर्घाबाट दुई जना युवकहरू संसद्भित्र कुदेका थिए ।

उनीहरूले पहेंलो रंगको धूवाँ संसद् भवनभित्र फैलाएर प्रदर्शनसमेत गरेका थिए । घटनामा संलग्न ६ जनालाई दिल्ली प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ।