युक्रेनको नियन्त्रणमा रहेका नेपालीको संख्या चार पुग्यो, के हुँदैछ फिर्ता ल्याउने प्रयास ?

युक्रेनको नियन्त्रणमा रहेका नेपालीको संख्या चार पुग्यो, के हुँदैछ फिर्ता ल्याउने प्रयास ?

काठमाडौं । युक्रेनी सेनाको नियन्त्रणमा रहेका रुसी सेनामा कार्यरत नेपाली युवाको संख्या चार पुगेको छ । हालै रुसी सेनामा कार्यरत मोरङ लेटाङका विकास राईलाई पनि युद्धका क्रममा युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । उनीसँगै युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपाली युवाको संख्या चार पुगेको छ । युक्रेनले उनीहरूलाई युद्धबन्दीको रूपमा राखेको छ । 

यसअघि रुसी सेनामा भर्ती भएका बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल र दाङका प्रतिक पुनलाई युक्रेनले नियन्त्रणमा लिएको थियो । रुसले उनीहरू सबैलाई युक्रेनसँगको युद्धमा लड्न पठाएको थियो । युद्धका क्रममा युक्रेनी सेनाले विभिन्न समय र स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

युक्रेनले नियन्त्रणमा लिइएका रुसी सेनामा कार्यरत चार नेपालीको विवरण भारतको नयाँदिल्लीस्थित आफ्नो दूतावासमार्फत नेपाललाई पठाएको छ । दूतावासले उक्त जानकारी पाएपछि परराष्ट्र मन्त्रालयलाई पठाएको छ । 

“युक्रेनले रुसी सेनामा कार्यरत चार नेपालीलाई पक्राउ गरेको जानकारी हामीलाई दिएको छ । यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकिएको छ,” नयाँदिल्लीस्थित नेपाली दूतावास स्रोतले भन्यो । 

युक्रेनले नियन्त्रणमा लिएका चार नेपाली युवालाई नेपाल फर्काउने नयाँदिल्ली र जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले पहल गरिरहेका छन् ।