इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव संयुक्त राष्ट्रसंघमा पारित, नेपालद्वारा पक्षमा मतदान

इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव संयुक्त राष्ट्रसंघमा पारित, नेपालद्वारा पक्षमा मतदान
फाइल तस्वीर

काठमाडौं । इजरायल र हमासबीच जारी युद्ध २२ औं दिनमा पुगेको छ । संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएको छ जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ ।

यो प्रस्तावको पक्षमा नेपालको सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले मतदान गरेनन् । इजरायलले यो प्रस्तावको विपक्षमा मतदान ग¥यो । न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने बताए । उनले भने, ‘इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार छ । यो अधिकार प्राप्ति भनेको त्यस्ता अत्याचारहरू कहिल्यै दोहोरिन नपरोस् भन्ने सुनिश्चित गर्नु हो र यो तब मात्र सुनिश्चित हुनेछ जब हमास पूर्ण रूपमा समाप्त हुन्छ,’ उनले भने ।

उता इजरायली सेनाले शुक्रबार राति गाजामा हवाई आक्रमणलाई तीव्र पारेको छ । स्थलगत परिचालन पनि बढाइएको छ । आक्रमणका कारण गाजा क्षेत्रमा सञ्चार अवरुद्ध भएको छ भने इन्टरनेट पनि बन्द गरिएको छ । करिब २३ लाख मानिस संसारबाट सम्पर्कविच्छेद भएका छन् ।