काठमाडौं । सर्लाहीको सदरमुकाम मलंगवामा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
झडपमा परेर दुईजना प्रहरी घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारले जानकारी दिए । उनका अनुसार अवस्था नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ ।
मलंगवाको जिविस चोकमा गरिएको दुर्गा पूजाको मुर्ति सेलाउन लैजान प्रशासनले रुट निर्धारण गरेको थियो । विगतमा मुर्ति विर्सजनको क्रममा भएको विवादलाई मध्यनजर गर्दै प्रशासनले रुट निर्धारण गरेको थियो ।
तर स्थानीयले विगतकै मुस्लिम वस्ती हुँदै जाने रुटबाट लैजान खोजेपछि प्रहरीले रोकेको थियो । त्यस क्रममा तनाव बढेपछि थप प्रहरी परिचालन गरी स्थानीय प्रशासनले तोकेकै रुटबाट लगेर विसर्जन गरिएको छ । डिएसपी पजियारका अनुसार अहिले अवस्था समान्य भएको छ ।
प्रहरीका अनुसार जिल्लामा ६५ बढी स्थानमा दुर्गा पूजा गरिएको थियो । अन्य ठाउँमा शान्तपूर्वक रुपमा मूर्ति विर्सजन भएको प्रहरीले जनाएको छ ।