इरानलाई नेपालले दियो ३५४ रनको विशाल लक्ष्य

इरानलाई नेपालले दियो ३५४ रनको विशाल लक्ष्य

काठमाडौं । मलेसियामा आजबाट सुरु भएको एसीसी यू १९ प्रिमियर कपमा इरानविरुद्ध नेपालले ३५४ रनको विशाल स्कोर खडा गरेको छ । कप्तान देव खनालले नेपालका लागि विष्फोटक शतक बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । अर्जुन कुमार दोस्रो बलमै आउट भए भने तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले पनि ९ बलमा ३ रन मात्रै बनाउन सके । १० रनमै दुई विकेट गुमाएको अवस्थामा देवले ओपनर दिपक बोहोरासँग मिलेर नेपाललाई खेलमा फर्काएका थिए ।

खनालले ६० बलमा १२ चौका र ४ छक्काको मद्दतले शतक पूरा गरेका हुन् । १०० रन बनाएलगत्तै उनी आउट भएका थिए । बोहोरा ५९ बलमा ६५ रन बनाएर आउट भए । यस्तै दिपक प्रसाद डुम्रेले ४४ बलमा ६९ रन बढाउँदै नेपाललाई विशाल स्कोरतर्फ अघि बढाएका थिए । दीपेश कँडेलले २२ बलमा २९ रन बनाए ।

इरानका लागि सलमान नियाजमन्द र दद्राहमन रइसीले समान ३–३ विकेट लिएका छन् ।