काभा भलिबल च्यालेन्ज कप श्रीलंकामा अक्टोबर ९ देखि हुने

काभा भलिबल च्यालेन्ज कप श्रीलंकामा अक्टोबर ९ देखि हुने

काठमाडौं । काभा मेन्स भलिबल च्यालेन्ज कप यही अक्टोबर दोस्रो सातादेखि श्रीलंकामा हुने भएको छ । मध्य एसियाका दोस्रो श्रेणीका राष्ट्रहरुले खेल्ने यस प्रतियोगिता यही अक्टोबर ९ देखि १५ सम्म श्रीलंकामा आयोजना हुने पक्का भएको नेपाल भलिबल संघले जनाएको छ ।

जसमा आयोजक श्रीलंका र नेपालसहित बंगलादेश, अफगानिस्तान, उज्बेकिस्तान र साउदी अरेबिया सहभागी हुनेछन् । प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा खेलाइनेछ र शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि खेल्नेछन् । नेपालले पहिलो खेल अक्टोबर ९ मा बंगलादेशसँग खेल्नेछ । यस्तै अक्टोबर १० मा श्रीलंका, अक्टोवर ११ मा अफगानिस्तान, अक्टोबर १२ मा साउदी तथा अक्टोबर १३ मा उज्बेकिस्तानसँग खेल्नेछ ।

नेपालको पुरुष भलिबल टिम चीनमा जारी १९औं एसियाड खेलेर स्वदेश फर्किसकेको छ । नेपाल समूह चरणमा बहराइन र इरानसँग पराजित भएको थियो । यस्तै नेपालले जुनमा कीर्गिस्तानमा भएको काभा मेन्स नेसन्स लिगसमेत खेलेको थियो ।