नेकपाको सचिवालय बैठकमा के भयो

नेकपाको सचिवालय बैठकमा के भयो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले नेपाल–भारत सीमाका विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । “सीमाका विषयमा नेपाल सरकारले स्पष्ट गरिसकेको छ, यस विषयमा नेपालको नयाँदिल्लीस्थित राजदूतावासमार्फत भारतीय सरकारको ध्यानाकर्षणसमेत गराइसकिएको छ”, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकपछि सञ्चारकर्मीका जिज्ञासामा उहाँले नेकपाले नेपाल–भारत सीमा विषयलाई गम्भीरतापूर्वक लिएको बताउनुभयो । परराष्ट्र मन्त्रालयले यही कात्तिक २० गते विज्ञप्ति प्रकाशित गर्दै कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पारेको थियो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिमण्डलका सदस्य तथा आफ्ना सचिवालयमा कार्यरत विज्ञ सल्लाहकारको पुनरगठन गर्ने विषयमा बैठकले केही निर्णय ग¥यो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता श्रेष्ठले भन्नुभयो, “यस विषयले बैठकमा प्रवेश पाएको छैन, यो प्रधानमन्त्रीको आफ्ना कुरा हुन् ।”

यस्तै आजको बैठकले केन्द्रीय निकायका साङ्गठानिक विभाग गठन गर्ने कार्यलाई पूर्णता दिएको छ । गठन गर्न बाँकी तीनवटा आयोग, सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्ष र सचिव चयन गर्दै सो कार्यलाई पूर्णता दिइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहरा तथा सचिवमा अशोक रोकाय र केन्द्रीय लेखापरीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल तथा सचिवमा टेकनाथ आचार्यलाई चयन गरेकोे जानकारी दिइयो ।

बैठकपछि पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ तथा सचिवमा माधव पौडेल, केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापालाई र ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाइँ र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरिएको छ भन्नुभयो । सो कार्यबाट पार्टी एकीकरणले पूर्णता पाएको उहाँको भनाइ थियो ।