काठमाडौं । १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिमले मंगोलियालाई पराजित गरेको छ । बिनजियाङ जिम्नयाजियम कोर्टमा बिहीबार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २–० ले हराउँदै हराए । प्रिन्स २१–८, २१–१४ तथा सुनिल २१–११, २१–७ ले विजयी भए । तर विष्णु कटुवाल भने सुमियासुरेन एनखबातसँग २–१ ले पराजित भएपछि मंगोलियाले पुनरागमन गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा विष्णु २१–२३, २४–२२, १७–२१ ले पराजित भए ।
तर प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २–० ले पराजित गर्दै खेल जितेको हो । प्रिन्स र विष्णुको जोडी २१–८, २१–९ ले विजयी भयो । महिला टिम इभेन्टमा भने नेपाल माल्दिभ्ससँग ३–१ ले पराजित भयो ।
नेपालकी रशिला महर्जन माल्दिभ्सकी फतिमाथ नबाहा अब्दुल रज्जाकसँग २–१ ले, नङ्शल तामाङ अमिनाथ नाबिहा अब्दुल रज्जाकसँग २–० पराजित भए । अनु माया राईले अइसाथ अफ्नान असिदलाई २–० ले पराजित गरेपछि नेपालले खेलमा पुनरागमन गरेको थियो । तर रशिला र अनुको जोडी फतिमाथि र अमिनाथको जोडीसँग २–० ले पराजित भएपछि नेपाल खेलमा पराजित भएको हो ।