बाज्रिलको अमेजन जङ्गलबीचमा विमान दुर्घटना, १४ जनाको मृत्यु

बाज्रिलको अमेजन जङ्गलबीचमा विमान दुर्घटना, १४ जनाको मृत्यु
फाईल तस्वीर

ब्राजिलको अमेजनको जङ्गलबीच बार्सेलोस सहरमा शनिवार भएको एक विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।  दुर्घटनाग्रस्त विमान एउटा सानो प्रोपेलर विमान थियो जुन खराब मौसमका बीच अमेजोनासको मानुसबाट बार्सेलोस जाँदै थियो । अधिकारीका अनुसार भारी वर्षाका कारण विमान ल्यान्ड गर्ने कोसिस गरिरहेका बेला दुर्घटनाग्रस्त भएको हो ।  दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको छ । यसमा चालक दलका दुई सदस्यसहित  १२ यात्री थिए जसमा केही पर्यटक रहेको बताइएको छ । 

समाचार एजेन्सी एएफपीका अनुसार अमेजोनासको सुरक्षा अधिकारी विनिसियस अलमेडाले भने, ‘सानो विमानका पाइटल भारी वर्षाका बीच सहर नजिकै पुगेको थियो, त्यति बेला त्यहाँ भिजिबिलिटी निकै कम थियो । अनजानमा उनले धावनमार्गको बीचमा अवतरण गर्ने कोसिस गरेको जस्तो देखिन्छ । यसै कारण विमान पूर्णरुपमा अवतरण हुनुअघि नै रनवेको स्ट्रिप सकियो र विमान दुर्घटनाको सिकार भयो ।’

समाचार एजेन्सीका अनुसार सबै यात्री ब्राजिलियन मूलका थिए जो बार्सेलोसमा स्पोर्ट फिसिङका लागि जाँदै थियो । प्रदेशका गभर्नर विल्सन लिमाले सोसल मिडिया साइट एक्समा लेखेका छन्, ‘दुर्घटना लगत्तै हाम्रो टोली राहत कार्यमा संलग्न छ । उनीहरुले सबै आवश्यक मद्दत प्रदान गरिरहेका छन् ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार मानुस एरोटेक्सी एयरलाइनले एक बयान जारी गर्दै दुर्घटनाको पुष्टि गरेको छ र दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ । यद्यपि, एयरलाइनले दुर्घटनामा मारिएकाबारे कुनै पनि जानकारी दिएको छैन ।