एसिया कप क्रिकेट : उपाधिका लागि आज भारत र श्रीलंका खेल्दै

एसिया कप क्रिकेट : उपाधिका लागि आज भारत र श्रीलंका खेल्दै

काठमाडौं । एसिया कपको फाइनल खेल आज हुँदैछ । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समयअनुसार अपराह्न सवा ३ बजे उपाधिका लागि भारत र श्रीलंका आमनेसामने हुँदैछन् । सुपर फोरमा पाकिस्तान र बंगलादेशलाई हराउँदै श्रीलंका फाइनल पुगेको थियो । सुपर फोरमा भारतसँग भने श्रीलंका ४१ रनले पराजित भएको थियो ।

सुपर फोरको तीन खेलमध्ये भारत दुई खेलमा विजयी भएको थियो। पाकिस्तान र श्रीलंकमाथि विजयी भएर बंगलादेशसँग पराजित भएपनि  भारत सुपर फोरको शीर्षस्थान कायम गर्दै फाइनल पुगेको हो । फाइनलकै निम्ति भारतले विराट कोहली, हार्दिक पाण्ड्या, जसप्रित बुमराह, मोहम्मद शिराज लगायतका खेलाडीलाई बंगलादेशविरूद्ध खेलमा आराम दिएको थियो ।

श्रीलंका एसिया कपको साबिक विजेता पनि हो। अघिल्लो वर्ष युएइमा पाकिस्तानलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो । १९८४ देखि सुरू भएको एसिया कपको १५ औं संस्करणसम्म आइपुग्दा भारतले सर्वाधिक  ७ पटक उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको छ। श्रीलंकाले ६ पटक उपाधि जित्दा ६ पटक उपविजेता बनेको छ।

एकदिवसीय अन्तर्राष्ट्रियमा भारत र श्रीलंका १६६ पटक आमनेसामने भएका छन्। जसमध्ये भारतले ९७ र श्रीलंकाले ५७ खेल जितेको छ । एसिया कपको फाइनल खेलमा श्रीलंकालाई घरेलु दर्शकको साथ हुनेछ। कोलम्बोमा आज पानी पर्ने सम्भावना भने ८० प्रतिशत छ।