विराट कोहलीसहित भारतीय खेलाडीले पहिर्‍याइदिए नेपाली क्रिकेटरलाई मेडल

विराट कोहलीसहित भारतीय खेलाडीले पहिर्‍याइदिए नेपाली क्रिकेटरलाई मेडल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमलाई एकजुट बनाएर अघि बढाउन ‘ह्याप्पी ड्रेसिङ रूम’ का कार्यक्रम गर्दै आएका छन् । जसअन्तर्गत उनले खेलपछि राम्रो खेल्ने खेलाडीलाई ड्रेसिङ रुममा मेडल दिने गरेका छन् । जसका भिडिओहरू नेपाल क्रिकेट संघको युट्यब पेजमा हेर्न सकिन्छ । खेलपछि खेलाडीलाई प्रोत्साहन गर्न उनले मेडल नै दिने गरेका हुन् । सोमबार एसिया कपअन्तर्गत भारतविरूद्धको खेलपछि पनि यस्तै भयो । उनले भारतविरूद्धको खेलमा राम्रो खेलेका खेलाडीलाई मेडन लगाउन भारतीय खेलाडीलाई नेपालको ड्रेसिङ रूममा निम्ता दिए । क्रिकेट संघले सार्वजनिक गरेको भिडिओमा नेपालका सोमपाल कामीलाई भारतका हार्दिक पाण्ड्यालाई मेडल लगाउन निम्त्याएको देखिन्छ । जसमा उनी भन्छन्, ‘सोमपाल पनि अलराउन्डर हुन् ।’

त्यसपछि देसाईले आसिफ शेखलाई मेडल लगाइदिन भारतीय ब्याट्सम्यान विराट कोहलीलाई आग्रह गर्छन् । शेखले भारतविरूद्ध अर्धशतक प्रहार गरेका थिए। अरू भारतीय खेलाडी पनि उपस्थित भएको सो कार्यक्रममा विराटले मेडल लगाइदिँदा पहिलो पटक मेडल लगाइदिने अवसर पाएको भन्दै ठट्टा गरेको देखिन्छ । भारतीय प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रसिंह ऐरीलाई मेडल लगाइदिएको भिडिओमा देख्न सकिन्छ ।