लेखा अधिकृतको कमाइ पौने ६ करोड, भ्रष्टाचार मुद्दा दायर

लेखा अधिकृतको कमाइ पौने ६ करोड, भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा जलस्रोत अनुसन्धान विकास केन्द्र ललितपुरका लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

कार्कीले सार्वजनिक सेवामा रहँदा चार करोड ६७ लाख ३८ हजार ७८० रुपैँया अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो। सो रकमको वैधानिक स्रोत नभेटिएपछि अख्तियारले अकुत सम्पत्ति बराबरको विगो कायम गरी जरिवानासमेत असुल गर्न माग दावी लिएको छ।

उजुरी परेपछि अख्तियारले उनी सार्वजनिक सेवा प्रवेश गरेको मिति २०५३-०२-१७ देखि २०७९-०८-२८ सम्मको आयव्यय जाँच गरेको थियो । सो अवधिमा समग्र आय तथा व्ययको विश्लेषण गर्दा आयतर्फ पारिश्रमिक आय, उनकी श्रीमतीको पारिश्रमिक आय, विभिन्न भत्ता आय, घर बहाल आय, बीमा परिपक्क आय, जग्गा बिक्री आय, बैंक व्याज आय, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा आय, ऋणबपत प्राप्त विप्रेषण आय गरी वैध आय र १ करोड ८ लाख ४८ हजार ५९० रहेको अख्तियारले बताएको छ। 

सोही अवधिमा कार्कीले गरेको खर्च तथा लगानीतर्फ घर निर्माण खर्च, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, अध्ययन खर्च, ऋण लिएवापत तिरेको साँवा व्याज, बीमा प्रिमियमवापत तिरेको रकम, सवारी साधन खरिद, विभिन्न कम्पनीहरुको शेयर खरिदरलगानी गर्दा भएको खर्च, पुँजीगत लाभकर, घर वहाल कर, बैंक मौज्दात गरी  ५ करोड ७५ लाख ८७ हजार ३७० देखिन आएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।