टी–२० विश्वकप छनोटमा मलेसियालाई हराउँदै नेपालको सुखद सुरुवात

टी–२० विश्वकप छनोटमा मलेसियालाई हराउँदै नेपालको सुखद सुरुवात

cमलेसियालाई पराजित गरेसँगै नेपालको सेमिफाइनल सम्भावना बढेको छ । नेपालले दिएको ८५ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो ।

मलेसियाका लागि कप्तान विनिफर्ड दुराइसिङ्गमले सर्वाधिक २८ रन बनाइन् । उनले ३९ बलमा १ चौका प्रहार गरिन् । ओपनर एना हमिजा हसिमले २२ बलमा १ चौका सहित १४ रन बनाइन् । मास इलिसाले १४ बलमा १ चौका सहित १० रन बनाइन् । बलिङतर्फ नेपालका लागि कविता कुवँर र कविता जोशीले समान दुई÷दुई विकेट लिए। कप्तान रुविना क्षेत्री र अस्मिना कर्मचार्यले एक÷एक विकेट लिए । बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।

नेपालका लागि सीता रानामगरले ५४ बलमा उक चौकासहित सर्वाधिक ३८ रनमा अविजित रहिन् । सुरुवाती तीन बलमै तीन विकेट गुमाउँदै निकै खराब सुरुआत गरेको अवस्थाबाट सीताले परिपक्क प्रदर्शन गर्दै नेपालको साख जोगाएकी हुन् ।छैटौं विकेटका लागि सीता र अप्सरी बेगमले ५१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अप्सरी बेगम ३८ बलमा एक चौकासहित १७ रनमा आउट भइन् ।

पहिलो बलमै ओपनर काजोल श्रेष्ठ ऐना हामिजाहको बलमा मास एलिसाबाट क्याच आउट भइन् । लगत्तै अर्को बलमा सम्झना खड्का बोल्ड आउट हुन पुगेकी थिइन् । तेस्रो बलमा इन्दु बर्मा रन आउट हुन पुगेकी थिइन् । चौथो ओभरको पहिलो बलमा महिराह इजाती इस्मालले पुजा महतोलाई ५ रनमा बोल्ड आउट गरिन् । कप्तान रुविना क्षेत्री बेलबासे १३ बलमा दुई चौकासहित १२ रनमा आउट भइन् ।

मलेसियाकी ऐना हामिजा ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर दुई विकेट लिइन् । महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक एक विकेट लिए ।नेपालले दोस्रो खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।