ला लिगामा एट्लेटिको म्याड्रिडको कीर्तिमानी जित

ला लिगामा एट्लेटिको म्याड्रिडको कीर्तिमानी जित

काठमाडौं ।  स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिडले कीर्तिमानी जित हात पारेको छ । आफ्नो पछिल्लो खेलमा एट्लेटिको म्याड्रिडले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी रायो भालेकानोलाई उसेको घरेलु मैदानमा ७—० गोलको फराकिलो अन्तरले हरायो । स्पेनिस ला लिगाको इतिहासमा एट्लेटिको म्याड्रिडले ‘अवे मैदान’ मा हासिल गरेको यो सबैभन्दा ठुलोअन्तरको जित हो । एट्लेटिको म्याड्रिडको जितमा ६ जना खेलाडीले गोल गरेका थिए । खेलको पहिलो हाफमा तीन गोल गरेको एट्लेटिको म्याड्रिडले दोस्रो हाफमा चार गोल थपेको थियो । 

डिएगो सिमानको प्रशिक्षकत्वमा रहेको एट्लेटिको म्याड्रिडका लागि खेल सुरु भएको दोस्रो मिनेटमै एन्टोनियो ग्रिजम्यानले पहिलो गोल गरेका थिए । खेलको १६औँ मिनेटमा मेम्फिस डिपेले टोलीको अग्रता दोब्बर बनाएका थिए । यसैगरी ३६औँ मिनेटमा नाहुएल मोलिनाले एट्लेटिको म्याड्रिडका लागि तेस्रो गोल थपेका थिए । त्यसपछि खेलको दोस्रो हाफमा एट्लेटिको म्याड्रिडले चार गोल थप्यो । एट्लेटिको म्याड्रिडका लागि ७३औँ मिनेटमा अल्भारो मोराटाले चौथो गोल गरेका थिए । 

यसैगरी ७९औँ मिनेटमा एन्जल कोरियाले टोलीलाई ५—० गोलको अग्रता दिलाएका थिए । ८४औँ मिनेटमा अल्भारो मोराटाले ब्यक्तिगत रुपमा दोस्रो गोल थपेपछि एट्लेटिको म्याड्रिड ६—० ले अगाडि बढेको थियो । ८६औँ मिनेटमा एट्लेटिको म्याड्रिडका लागि मार्कोस लोरेन्टले सातौँ तथा अन्तिम गोल गरेका थिए । जितसँगै एट्लेटिको म्याड्रिड सात अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तीन खेल खेलेको एट्लेटिको म्याड्रिडले दुई जित र एक बराबरीको नतिजा निकालेको छ । तालिकाको पहिलो स्थानमा आसिन रियल म्याड्रिडले तीन खेलबाट नौ अङ्क जोडेको छ । 

२१औँ शताब्दी सुरु भएयता एट्लेटिको म्याड्रिडले ला लिगामा कुनै पनि प्रतिद्वन्द्वीविरुद्व सात गोल गरेको यो दोस्रो पटक हो । यसअघि सन् २०१३ को ला लिगामा एट्लेटिको म्याड्रिडले गेटाफेलाई ७—० गोलले पराजित गरेको थियो ।