कालापानी : वारी विरोध पारि भारतीय सेनाको हवाई गस्ती

कालापानी : वारी विरोध पारि भारतीय सेनाको हवाई गस्ती

काठमाडौं : भारतले सार्वजनिक गरेको नक्सामा कालापानी र लिपुलेकलाई पारेको भन्दै नेपालमा विरोध भइरहँदा भारतले कालापानी क्षेत्रमा सैनिक गतिविधि बढाएको छ । सुरुमा नेपालबाट पाकिस्तानी आतंककारीको घुसपैठको शंका गरेर सीमा क्षेत्रमा सैनिक गतिविधि बढाएको भारतले पछिल्लो पटक सैनिक संख्या र हतियार थप्दै हवाइ गतिविधि बढाएको हो ।

भारतले नेपालको कालापानी क्षेत्रमा दिनहुँजसो हेलिकप्टरबाटै निरीक्षण गर्ने गरेको बताइएको छ । भारतीय वायुसेना र उच्च सैन्य अधिकारीहरु यो अतिक्रमित क्षेत्र नियमित पुग्ने गरेका छन् । यतिमात्रै होइन नेपाली भूमि अतिक्रमण गरेर भारतीय पक्षले सुरक्षा फौज नै बसाएको छ । पछिल्लो समय अतिक्रमित क्षेत्रमा भारतीय सेनाको उपस्थिति मात्रै होइन, मोर्चाबन्दी र हवाई युद्धकै तयारी भइरहेझैँ अनुभूति दिन्छ ।

तर नेपालले आफ्नै भूमिमा पनि उपस्थिति भने देखाउन सकेको छैन ।भारतीय सुरक्षा स्रोतका अनुसार सिमावर्ती बजार धारचुलामा पृतना स्तरको सैनिक क्याम्प राख्ने तयारी गरिएको छ । त्यसका लागि कुमाउ स्काउट राखिएको ठाउँमा क्याम्पहरू थप्ने काम भएको छ भने कुमाउको प्याराबटालियनमा पनि सैन्य संख्या बढाइएको छ । त्यसैगरी भारतीय सेनाले पिथौरागढको ठूलीगाढबाट धारचुलास्थित कुमाउ स्काउट बटालियनमा आर्टिलरी हतियार ५५५ हाउजर ५० थान थपेको छ भने यो क्षेत्र धारचुलादेखि कालापानीसम्म दैनिक गस्तीसमेत बढाएको छ ।

भारतीय प्रहरीले नेपाली भूमिमै बन्दोबस्ती र हातहतियारसहित सेना खटाएको छ । पछिल्लो समय भारतीय सेनाको उपस्थिति मात्रै होइन, मोर्चाबन्दी र हवाई युद्धको तयारी पनि देखिन्छ । भारतीय वायुसेनाको लडाकु विमानले उडान गरिरहेकोबारे भारतीय पत्रिका हिन्दुस्तान दैनिकले अक्टोबर २३ (कात्तिक ६ गते) समाचार प्रकाशित गरेको छ । यता सरकारले भने भारतले मिचेको सिमाका बिषयमा कुटनितिक माध्यमबाट समाधान खोज्ने बताइरहेको छ ।