विराटनगर । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हो । रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नो जमिनमा प्रवेश गरेर धरपकड गरेको भन्दै साम्पाङविरूद्ध रिट दायर गरेका थिए ।
धरान ४ स्थित छोटी मोरङ डाँडामा साम्पाङले ६ साउनमा वृक्षरोपण गरेका थिए । वृक्षरोपण गरेको जग्गा अधिकारी दम्पतीले आफ्नो भएको दाबी गर्दै आएका छन् । मेयर साम्पाङले भने सर्दु सट्टाभर्नाको जग्गा भएकाले वृक्षरोपण गरेको दाबी गरेका छन् ।
सोमबार मेयर साम्पाङ पुनः त्यही विवादित जग्गामा पुगेका थिए । उनी जाँदा अधिकारी दम्पतीले प्रतिवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
विवादपछि साम्पाङले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रशासनमा उजुरी पनि दिएका छन् । उजुरी परेपछि अधिकारी दम्पती निषेधाज्ञा माग गर्दै उच्च अदालत विराटनगर आएका थिए । जिल्ला प्रशासन कार्यालयलगायत विपक्षीको नाममा कानुन बमोजिम बाहेक निवेदकलाई पक्राउ नगर्न र निवेदकको जग्गामा प्रवेश नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको हो ।