मालीको
एउटा सैनिक कार्यालयमा शुक्रबार भएको आक्रमणमा परी ५३ जना सैनिकको मृत्यु भएको छ ।
देशको
उत्तरपूर्वी क्षेत्रमा भएको यस आक्रमणलाई सरकारी अधिकारीहरुले आतङ्कवादी हमला
भनेका छन् । इस्लामिक लडाकूहरुले गराएको हिंसा मध्ये यो पछिल्ला हिंसाहरु मध्येको
ठूलो भएको पनि अधिकारीहरुको भनाई छ । आक्रमणमा परी एक जना सर्वसाधारणको पनि मृत्यु
भएको जनाइएको छ ।
नाइजरसँगको
सिमानामा पर्ने मेनका क्षेत्रको इन्डेलिमानमा रहेको सैनिक कार्यालयमा आक्रमण भएको
देशका सञ्चार मन्त्री याया सान्गारेले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी
दिनुभएको छ ।
“अहिले
अवस्था नियन्त्रणमै छ, शव संकलन गरेर पहिचान गर्ने काम भइरहेको छ,” उहाँले लेख्नुभएको छ । आक्रमण र
क्षतिको पूर्ण विवरण भने आइनसकेको उहाँले
बताउनुभयो ।
घटनाका
बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको अधिकारीहरुले जनाएका छन् । त्यस
क्षेत्रमा अल कायदाआबद्ध जिहादीहरुको प्रभाव बढी रहेको मानिन्छ ।
फ्रान्स
नेतृत्वको सैन्य अभियानले जिहादीविरुद्ध सुरक्षा कारबाही चलाएको थियो । तर हिंसा
अन्त्य भने हुन सकेको छैन ।