परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् : कालापानीमा भारतले बलमिच्याइँ गर्‍यो

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्  : कालापानीमा भारतले बलमिच्याइँ गर्‍यो

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर कालापानीलाई आफ्नो सिमामा राखेर एकपक्षीय नक्सा जारी गरेको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध अनेरास्ववियूले बुझाएका ज्ञापनपत्र बुझ्दै भारतले जारी गरेको नक्सा सच्याउन सरकारले कूटनीतिक र राजनीतिक पहल गर्ने बताए ।

तथ्य प्रमाणका आधारमा अब निर्णाएक संवाद गरि समस्या समाधान गर्ने उनको भनाई छ । उनले भने, ‘हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङ्दी नदी हो भन्ने प्रष्ट देखिन्छ । तर अहिले एउटा सानो कृतिम तुरतुरे धारा बनाएर त्यसलाई सीमा भन्दै आएको छ, जसमा नेपालको विरोध रहँदै आएको छ ।’

अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङले भने कालापानीमा तत्काल स्थलगत अनुगमन टोली पठाउने र नेपाली भूमि फिर्ता गर्न माग गरेका छन् ।