महानिर्देशकको राजीनामा मागसहित अध्यागमन विभाग घेराउ गर्दै मेनपावर व्यवसायी

महानिर्देशकको राजीनामा मागसहित अध्यागमन विभाग घेराउ गर्दै मेनपावर व्यवसायी
फाईल तस्वीर

काठमाडौं । वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई रोकेको भन्दै मेनपावर व्यवसायीले अध्यागमन विभाग घेराउ गर्ने भएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा व्यवसायीहरूले विभाग घेराउ गर्न लागेका हुन् । उनीहरूले अध्यागमन विभागका महानिर्देशकको राजीनामा समेत माग गरेका छन् । आज विभागको कार्यालय परिसर घेराउ गर्न लागिएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए ।

वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११७ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले रोक लगाएको थियो । कागजात शंकास्पद रहेको कारण देखाउँदै अध्यागमनले रोकेको थियो । तर, व्यवसायीहरूले भने भिसा, श्रम स्वीकृत, हवाई टिकट लगायतका सबै कागजात हुँदा पनि अध्यागमनले रोकेको आरोप लगाउँदै आएका छन् । 

वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरि संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेकाहरूलाई अध्यागमनले रोक्दै आएको संघले जनाएको छ ।