दासढुंगामा बस दुर्घटना : १९ जना घाईते, उद्धार कार्य जारी

दासढुंगामा बस दुर्घटना : १९ जना घाईते, उद्धार कार्य जारी
तस्वीर : दुर्घटनाग्रस्त क्षेत्र

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुवाहक बस आज बिहान ५ः२० बजे आफैं अनियन्त्रित भएर पल्टिँएको हो । बस अनियन्त्रित भई दुर्घटना भएपछि बसमा सवार १९ जना घाइते भएका हुन् ।

दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । बस चालक पनि घाइते भएर उपचाररत छन् । घाइतेहरुमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस सडकबाट झण्डै १० मिटर तल खसेर रुखमा अड्किएको छ र त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । बसलाई दुर्घटनास्थलबाट बाहिर निकाल्ने प्रयास भैइरहेको प्रहरीले जनाएको छ ।