काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले पाँच मन्त्री र एक राज्यमन्त्री थप गर्दै मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
थप गरिएका मन्त्रिमण्डलमा नेकपा माओवादी केन्द्रबाट तीन मन्त्री, एकिकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री गरी छ जना थपिएका हुन् ।
माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
त्यस्तै एकीकृत समाजवादीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् भने इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी हुन् ।
प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन् ।
योसँगै अब वागमती प्रदेशमा मुख्यमन्त्रीसहित ११ जना मन्त्ती र एक राज्यमन्त्रीसहितको सरकार बनेको छ । वागमती प्रदेशमा मन्त्रालयको संख्या ८ बाट बढाएर १४ पुर्याइएको छ ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुलाई आज नै पद तथा गोपनीयताको शपथ गराईनेछ ।