बाइडेन र पुटिनबीच झण्डै दुई घण्टा भिडियो वार्ता, के भयो कुराकानी ?

बाइडेन र पुटिनबीच झण्डै दुई घण्टा भिडियो वार्ता, के भयो कुराकानी ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भर्च्युअल वार्ताको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले गरिरहेको सैन्य बिस्तार तथा त्यसले आर्थिकसहितका अरु पक्षहरुलाई लिएर गम्भीर चिन्ता उत्पन्न भएको भन्दै चासो व्यक्त गरेका छन् । अमेरिकाले युक्रेनमाथि कुनै पनि प्रकारको सैन्य आक्रमण वा अभियान रुसले गरेमा त्यसको गम्भीर जवाफ दिनका लागि तयारी भइरहेको जनाएको छ ।

रुसले युक्रेनमाथि आक्रमणको तयारी नरहेको दाबी गरेको छ। बाइडेन र पुटिनबीच सुरक्षित भिडियो लिंक मार्फत वार्ता भएको रुसी समाचार संस्था टासले जनाएको छ । बाइडेन र पुटिनले झण्डै दुई घण्टा वार्ता गरेका हुन् । पुटिन आफ्नो निवासबाट वार्तामा सहभागी भएको टासले उल्लेख गरेको छ ।

मंगलबार भएको भिडियो वार्तापछि अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलिभनले पत्रकारसँग आवश्यक परेको अवस्थामा तयार हुने गरी जवाफ दिने सक्ने गरी काम भइरहेको बताएका हुन् । बाइडेनले युक्रेनसहितका विषयमा अमेरिकाको पोजिसन स्पष्ट पारेको ज्याकले पत्रकारसँग भनेका हुन् ।

युक्रेनमाथि रुसले आक्रमण गरेको खण्डमा नेटो मार्फत थप सैनिकको तैनाथी, आर्थिक प्रतिबन्ध तथा युक्रेनका लागि रक्षा सामग्री प्रदान गर्नेसहितका काम हुने अमेरिकाले जनाएको छ । पछिल्लो समय रुसका गतिविधि विशेष गरी युरोपका लागि जोखिमपूर्ण देखिएका छन् ।