भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सतर्कता आवश्यक

भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सतर्कता आवश्यक

काठमाडौं । दक्षिण अफ्रिकाबाट सुरु भएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ मिछेकी मुलुक भारतमा पनि देखा परेको छ । 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लब अग्रवालले कर्नाटकका २ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको जनाएका छन् । ६६ वर्ष र ४० वर्षका दुई पुरुषमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको हो ।

उनीहरुको कन्ट्याक ट्रेसिङको काम पनि भएको छ भने अन्यको स्वास्थ्य परीक्षण पनि गरिएको जनाएको छ । सहसचिव अग्रवालका अनुसार जेनोम सिक्वेन्सिङद्वारा पत्ता लगाइएको हो । संक्रमित दुवैमा कुनै गम्भिर लक्षणहरु नदेखिएको उनले बताए ।

योसँगै कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ । 

नेपाल भारत खुला सीमानाका कारण छिमेकी मुलुक भारतमा यो भाइरस देखा परेपछि नेपालमा त्रास फैलिएको छ । यसअघि उत्तरी छिमेकी मुलुकमा संक्रमितहरु बढ्दा नेपालमा खासै प्रभाव नपरेको भएपनि भारतमा कोरोना फैलिनाले नेपालमा संक्रमण दर ह्वात्तै बढेको थियो । 

छिमेकी मुलुकमा देखा परेको ओमिक्रोन भाइरसलाई नेपाल भित्रन नदिन उच्च सतर्कता अपनाउन जरुरी रहेको विज्ञहरुको सुझाव छ ।