लिङदेनलाई कमला थापाको चुनौती : मसँग टुंडिखेलमा दौडिएर जित्नुस् म अध्यक्ष छोड्दिन्छु

लिङदेनलाई कमला थापाको चुनौती : मसँग टुंडिखेलमा दौडिएर जित्नुस् म अध्यक्ष छोड्दिन्छु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा नेता राजेन्द्र लिङदेनलाई आफूसँग टुडिखेलमा दौडिएर प्रतिष्पर्धा गर्न चुनौती दिएका छन् ।

सोमबार काठमाडौँमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै अध्यक्ष थापाले केही दिनअघि मात्रै राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका लिङदेनले युवा पुस्ता र पुरानो पुस्ता भनेर पार्टीमा विभाजन ल्याउन खोजेको आरोप लगाए ।

उनले आफूलाई कुन पुस्तामा राखेको भन्ने जानकारी नभएको समेत बताए । उनले भने, ‘आज पार्टीमा युवा पुस्ता, नयाँ पुस्ता भनेको सुन्छु । म कुन पुस्ता हो मलाई थाहा छैन । तर नयाँ पुस्ता नाममा विभाजनको रेखा नल्याउनुस्,’ थापाले भने ‘पुस्ताकै कुरा गर्ने हो भने टुँडिखेलमा दौडेर मलाई जिताउनुस्, म अध्यक्षको पदमा उठ्दिनँ ।,’

अध्यक्ष थापाले आगामी निर्वाचनपछि मात्र पार्टी नेतृत्वबाट विश्राम लिने बताएका छन् ।  पार्टीलाई आगामी निर्वाचनपछि एउटा अग्रणी शक्तिका रूपमा स्थापित गर्ने र  चाँडो भन्दा चाँडो राजसंस्था र हिन्दु राष्ट्र स्थापना गरेपछि एउटा आधार निर्माण गर्ने र विश्राम लिने पनि बताए । 

उनले अहिले पनि केही अधुरा कामहरु रहेको भन्दै अहिलेको अवस्थाभन्दा पार्टीलाई माथि उठाएर नेतृत्व हस्तान्तरण गर्ने इच्छा व्यक्त गरे ।