विश्वकै सबैभन्दा वृद्धको १२४ वर्षको उमेरमा निधन

विश्वकै सबैभन्दा वृद्धको १२४ वर्षको उमेरमा निधन

विश्वकै सबैभन्दा वृद्ध व्यक्ति मानिएकी १९औं शताब्दीमा जन्मिएकी महिलाको १२४ वर्षको उमेरमा निधन भएको छ। डेलिमेलका अनुसार फिलिपिन्सकी फ्रान्सिस्का सुसानोको १२४ वर्षको उमेरमा सोमबार निधन भएको हो।

फिलिपिन्सको नेग्रोस ओसिडेन्टल प्रान्तस्थित कबन्कलानको आफ्नै घरमा सुसानोको मृत्यु भएको हो। उनलाई विश्वकै सबैभन्दा वृद्ध व्यक्तिका रुपमा गिनिज वर्ल्ड रेकर्डस्को मान्यता दिने कार्य भने प्रमाणीकरणको चरणमा छ। 

सुसानोको मृत्युको कारण भने खुलेको छैन तर उनलाई कोरोना संक्रमण भने देखिएको थिएन। सुसानोको जन्म सन् १८९७ सेप्टेम्बर ११ मा भएको मानिएको छ। जतिबेला फिलिपिन्समा स्पेनको शासन थियो। 

फिलिपिन्सको संसद्ले पनि उनको सम्मान गर्दै सुसानोको जन्मदिनमा करिब २४ लाख नेपाली रुपैयाँबराबरको पुरस्कार दिने निर्णय गरेको थियो। कबन्कलान सहरले एक विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ।